पारखीको पर्खाइमा कन्दमूलको अचार

गलेश्वर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नाच्र्याङको लेक गाउँमा पाइने औषधीय गुणयुक्त कन्दमुलको अचार प्रवर्द्धन र बजारीकरणको अभावमा गाउँमा मात्रै सीमित बनेको छ ।

अन्नपूर्ण चक्रिय पदमार्गको आकर्षक स्थल मानिने नाच्र्याङ र नाच्र्याङको शिरानमा रहेको लेकगाउँलाई पूर्व तथा उत्तरबाट घेरेको जङ्गल हिमालसम्मै फैलिएको छ। यो गाउँमा पाइने वनस्पति र कन्दमूलको तरकारी तथा अचारले अन्तर्राष्ट्रिय बजार पाउन सक्ने भए पनि प्रवर्द्धन हुन नसक्दा गाउँमा नै खुम्चिएर रहन बाध्य भएको स्थानीयवासीले बताएका छन् ।

अचारका सौखिनका लागि नाच्र्याङका प्रत्येक घरमा वनस्पति र कन्दमूलका थरीथरी अचार पाइन्छन्। ती अनेकौँ अचारमध्ये फापर परिवारअन्तर्गत पर्ने ‘रियम’ प्रजातिको कन्दमूलको अचार यहाँ रुचाइनेमध्येको प्रमुख हो। यो अचार स्वादिष्ठ हुनाका साथै औषधीय गुणले समेत युक्त हुने भएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले असाध्यै रुचाउने गरेका स्थानीयवासी जीतबहादुर पुनले बताए।

उनका अनुसार यो अचार प्राकृतिकरुपमा नै अमिलो हुन्छ। यो अचार बनाउने विधि पनि अनौठो रहेको पुनले जानकारी दिए। उनका अनुसार वनस्पतिको बोक्रालाई त्यसैको पातमा पोको पारेर तोरीको तेलमा केही महीना डुबाएर राखेपछि अचार तयार हुन्छ। गाउँलेले जेठ–असारमा त्यसका पात र बोक्रा सङ्कलन गरेर अचार बनाउने गर्दछन्। उनका अनुसार यो वनस्पतिको पात एक–डेढ मिटरसम्म अग्लो हुन्छ। यसको फूल सानो र गुलाबजस्तो रातो हुन्छ ।

यसलाई विशेष प्रकारको अग्र्यानिक अचार भनेर प्रचारप्रसार गर्न सक्ने हो भने मानिसको स्वास्थ्यसँगै पर्यटन प्रवर्द्धनको पनि प्रशस्तै सम्भावना रहेको स्थानीयवासीको भनाइ छ। बूढापाकाका अनुसार यहाँ बनाइने अचार आयुर्वेदिक महत्वको पाखनभेद नामक वनस्पतिको आनुवांशिक प्रजाति हो ।

यो अचार औषधीय गुणले समेत युक्त हुने भएकाले ग्याष्टिक, गोला, गानो, छाती दुख्नेलगायतका बिरामीका लागि अत्यन्तै उपयोगी हुने बताइएको छ। यसको स्वाद गोलभेडाको भन्दा तिख्खर अमिलो हुने भएकाले यसलाई जङ्गली गोलभेडा पनि भनिने गरेको स्थानीयवासी तिलबहादुर पुनले बताए। परम्परागत रुपमा बनाइँदै आएको यहाँको वनस्पतिय अचारलाई प्रवर्द्धन गरी बजारीकरण गर्न स्थानीय तहले पहल थाल्नुपर्ने उनको भनाइ छ।

त्यसैगरी, यहाँ जङ्गली वनस्पति चुत्रोबाट मदिरा (घरेलु रक्सी) उत्पादन गर्ने गरिन्छ। जङ्गली फलबाट बनाइने यो मदिरा विशुद्ध प्राकृतिक हुने भएकाले यसले स्वास्थ्यलाई नकारात्मक असर नगर्ने यहाँका बासिन्दाको भनाइ छ। सिस्नोको परिकारका लागि पनि यो गाउँ प्रसिद्ध छ। जङ्गल र भिर पाखामा पाइने सिस्नोलाई टिपेर यहाँका बासिन्दाले स्वादिष्ट परिकार बनाउने गरेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार