हिलाम्मे हरिसिद्धि सडकले हैरानी

काठमाडौँ ।बाँडेगाउँका हरिश महर्जन घरबाट चावहिलस्थित कार्यालय पुग्दा बीचमा कपडा फेर्ने गर्छन् । हिलाम्मे हरिसिद्धि सडकका कारण सातदोबाटो आइपुग्दा मोटरसाइकल र लुगा दुवै हिलो हुने उनले बताए । उनले भने, “हिउँदमा धुलोले सातदोबाटो पुग्दा चिन्नै नसक्ने हुन्थ्यो अहिले हिलोले रोपाइँ गरेर गएजस्तो हुन्छ ।”

कर्मनाशा खोला–गोदावरी कुण्ड सडकको सुरु विन्दुका रुपमा रहेको हात्तीवन–हरिसिद्धि खण्डमा सडक अलपत्र हुँदा यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् । एकातिर सडकका खाल्डाका कारण सवारीसाधन चलाउन कठिन भएको छ भने पैदलयात्रु पनि छोटो दूरी हिँड्न गाह्रो भएको बताउँछन् । गत वर्षसम्म कर्मनाशा पुलदेखि टौखेलसम्मको सडक खराब अवस्थामा थियो । अहिले बाँडेगाउँबाट टौखेल सडक निर्माण सकिएर यात्रुलाई केही सजिलो भएको छ ।

निर्माण सुरु भएको पाँच वर्ष नाघिसक्दा पनि निर्माणाधीन गोदावरी सडकको सुरुको खण्ड कालोपत्र हुन बाँकी छ । काठमाडौँ उपत्यकामा विस्तारका लागि ठेक्का प्रक्रियामा गएका सबै सडक चौडाइ बढाउन नसकिएकाले अलपत्र भएपछि सरकारले झण्डै डेढ वर्षपहिले उपलब्ध चौडाइमा सडक निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा उपलब्ध चौडाइमा सडक निर्माण गरेर ठेक्का बन्द गर्ने योजना बनाइएको काठमाडौँ उपत्यका सडक विस्तार योजनाले जनाएको छ ।

गोदावरी सडक गत असार महिनासम्ममा सडक सम्पन्न गर्ने योजना बनाइएको भए पनि कोभिड संक्रमणका कारण अवरुद्ध भएको योजनाका सूचना अधिकारी अशोक यादवले बताए । उनले भने, “हामीले असारसम्ममा सकाउने गरी काम गर्न व्यवसायीलाई भने पनि बन्दाबन्दीले काम हुन सकेन ।”

सडक दुई ठेक्कामा निर्माण भइरहेकामा औसत ८५ प्रतिशत काम सकिएको योजनाले जनाएको छ । सडकको बीचको खण्डमा निर्माण भइसके पनि सुरु र अन्तिम खण्डमा निर्माण बाँकी छ । सुरुको झण्डै एक किमी बाँकी भए पनि त्यसपछिको झन्डै तीन किमीमा कालोपत्र भइसकेको सूचना अधिकारी यादवले बताए ।

गोदावरी कुण्डबाट बाँडेगाउँतर्फ तीन किमीमा निर्माण भइरहे पनि सम्पन्न भइसकेको छैन । दुई तह कालोपत्र हुनुपर्नेमा एक तह भएको र एक तह बाँकी रहेको सूचना अधिकारी यादवले बताए। यो वर्ष चाँँडो वर्षा सुरु भएकाले पनि काम चाँडो रोकिएको उनले बताए । उनले भने, “यो आवमा सकाउने लक्ष्य लिए पनि चाँडै पानी पर्न थालेकाले सकिएन, वर्षा रोकिएपछि पुनः सुरु गरिनेछ।”

पहिले २० मिटर चौडा गर्ने गरी ठेक्का सम्झौता गरिए पनि निर्माणस्थल खाली गर्न नसकिएकाले धेरै ठाउँमा सडक आधाभन्दा कम चौडाइमा कालोपत्र भइरहेको छ । कर्मनाशा पुल कटेपछि हरिसिद्धसम्म अगाडि झण्डै एक किमी मात्रै २० मिटर सडक बन्न लागेको योजना प्रमुख गुरु अधिकारीले बताए । मापदण्डानुसार निर्माण गर्न सकिएकाले यस खण्डमा पैदल यात्रु मार्ग पनि बन्नेछ । त्यहाँबाट बाँडेगाउँ (कृष्णप्रसाद भट्टराई आश्रम जाने बाटो) सम्म उपलब्ध चौडाइमा निर्माण अघि बढाइएको छ । उनले भने, “यो खण्डमा कम्तीमा सातदेखि बढीमा १० मिटर चौडा सडक बनेको छ ।”

बाँडेगाउँबाट गोदावरी वनस्पति उद्यानसम्म झन्डै १६ मिटर चौडा कायम गरिएको छ । सो खण्डमा भने हालका लागि पैदलयात्रु मार्ग नबनाइने प्रमुख अधिकारीले बताए । सो सडक निर्माणका लागि सबै पक्षबीच छलफल हुँदा हाललाई पैदलयात्रु मार्ग नबनाएर पछि थप चौडाइ उपलब्ध भएपछि मात्रै निर्माण गरिने सहमति भएको थियो । उनले भने, “झण्डै तीन किमीमा अधिकांश ठाउँमा चौडाइ १६ मिटर नै छ।”

लामो समयसम्म जग्गा प्राप्त हुन नसकेकै कारण निर्माण सुरु हुन सकेको थिएन । यसबीचमा पटकपटक अवधि थप भएको थियो । पछिल्लो समय कोभिडले अवरुद्ध गरेकाले अवधि थप भइरहेको छ । योजनाका कारण ढिलाइ भएकाले पटकपटक अवधि थप भइरहेको प्रमुख अधिकारीले बताए । पछिल्लो पटक भने कोभिडका कारण असर पुगेका योजनामा अवधि थप्ने सरकारको निर्णयानुसार यी ठेक्कामा अवधि थप भएको थियो । उनले भने, “फेरि पनि पुससम्म अवधि थप हुनेछ र सो अवधिमा सकाउनुपर्छ।”

सो सडक कर्मनाशा खोलाबाट हरिसिद्धिसम्म ललितपुर महानगरपालिका पर्छ भने साबिक ठैव र गोदावरी गाविस गोदावरी नगरपालिकामा पर्छ । दुवै पालिकाले समन्वयका लागि पहल गरेका थिए । प्रतिनिधिसभा र प्रदेशसभा सांसद्हरुले पनि समन्वय गरिरहेका छन्।

सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो । सडक निर्माणको ठेक्का आयोजनाले आशीष सीएम जेभी र लामा समानान्तर जेभी गरेर दुई कम्पनीलाई दिइएको थियो।

सरकारले झन्डै छ वर्षपहिले उपत्यकामा १० सडक र दुई पुलको विस्तार सुरु गरेको थियो । तीमध्ये अहिलेसम्म त्रिपुरेश्वरबाट कलङ्की हुँदै नागढुङ्गासम्मको सडक र बिजुलीबजारको धोबीखोला पुल मात्रै सम्पन्न भएको छ । अरू सडकमा उपलब्ध चौडाइमा निर्माण अघि बढाइएको भए पनि सम्पन्न भइसकेको छैन।

निर्माणका लागि ठेक्का सम्झौता हुँदा निर्माणस्थल खाली भइसकेको थिएन । काठमाडौँ उपत्यका नगर विकास प्राधिकरणले मापदण्डानुसार चिह्न लगाउन थालेपछि नै यहाँका स्थानीयवासीले संगठित रूपमा अवरोध गर्दै आएका थिए। लामो समयसम्म पनि सडक निर्माण अघि बढ्न नसकेपछि सरकारले मापदण्डभन्दा कम चौडाइमा निर्माण गरिरहेको  ।

–रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार