प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता

लहान।  प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको बजेटमा सप्तरीको बोदे बसाईन नगरपालिकामा अनियमतिता भएको रहस्य खुलेको छ।सो कार्यक्रमअन्तर्गत बोदे बसाइर्न –१ र ७ मा दैनिक ज्यालादारी अशिक्षित मजदुरलाई दिनुपर्ने रकम नदिई जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अनियमिता भएको जनाउँदै स्थानीय मजदुरहरुले विरोध जनाएका थिए । मजदुरले पाउने ज्याला नदिई अनियमितता गरेको स्थानीयवासीले आरोप लगाएका छन् । आर्थिक वर्ष २०७७\७८ मा नगरपालिकामा सञ्चालन गरिएको सो कार्यक्रममा वडा कार्यालयले १२८ जनालाई काममा लगाएको छ जबकि नगरपालिकाले ४० लाई मात्र काम लगाउन भनिएको थियो । काममा लगाइएका मध्ये ७० को नाममा सिटिजन बैंकको खातामा रकम जम्मा गरेको नगरपालिकाका रोजगार संयोजक सुनिलकुमार चौधरीले जानकारी दिए।

एकातिर काम गरेका सबै मजदुरलाई खाता खोलाइएन भने अर्कोतिर खातामा जम्मा भएको रकम मजदुरबाट झिक्न लगाईएको बताइएको छ । वडा कार्यालयका कर्मचारी र वडाध्यक्षका सहयोगीले सम्बन्धित मजदुरलाई थोरै मात्र रकम दिएर बाँकी रकम लिएको स्थानीय मजदुर तेतरीदेवी ठाकुरले गुनासो गरे।मजदुरले रोजगारीबापत प्रतिव्यक्ति रु ५० हजार पाउनुपर्नेमा अधिकांशको बैंकमा खाता नखोलाई घरघरमै पुगेर वडाध्यक्षले प्रतिव्यक्ति रु नौ\१० हजारको दरले मात्र भुक्तानी दिएकोे मजदुरहरुले आरोप लगाएका छन् ।

“काम गरेबापत नगरपालिकाले मेरो खातामा रु ५० हजार रकम जम्मा गरेको थियो, त्यो रकम बैंकबाट झिकेर घर फर्किंदै थिए,” ठाकुरले भने “बैंक बाहिर कुरेर बसिरहेका वडा कार्यालयका कार्यालय सहयोगी राजकुमार मण्डल, स्थानीयवासी हरे यादव लगायतले मसँग भएको सबै रकम खोसेर मलाई रु नौ हजार मात्र दियो, बाँकी रकम अरू मजदुरलाई बाँड्ने भन्दै लिएर गए ।” आफूले सबै रकम पाउनुपर्ने जनाउँदै रकम फिर्ता मागेपछि वडाध्यक्ष यादवले विरोध गरे कुनै काममा नलगाउने र दलित बस्तीमा विकासको योजना नदिने धम्की दिएको उनको गुनासो थियो ।

आफूले वडाध्यक्षकै निर्देशनमा बैंकबाट रकम झिकेका मजदुरहरुसँग रकम लिएको स्वीकार्दै कार्यालय सहयोगी राजकुमार मण्डलले भने “मजदुरहरु रकम झिक्न बैंक गएको छ, गएर मजदुरहरुले काम गरेको दिनअनुसार मात्र रकम दिनु र बाँकी रकम उनीहरुसँग लिएर आउनु भनी निर्देशन पाएको थिए, त्यही अनुसार मजदुरहरुलाई रु १० हजार मात्र दिएर बाँकी ४० हजार नगद लिई वडाध्यक्षलाई दिएको हुँ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार