पूर्वाञ्चल क्यान्सर अस्पतालमा ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा सुरु

झापा । विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले शल्यक्रियापछि अनुहारलाई दुरुस्त बनाउने ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा सुरुआत गरेको छ । नाक, कान र घाँटीमा क्यान्सर सङ्क्रमण हुँदा शल्यक्रिया गरेर अनुहारको बाहिरी र भित्री भागमा पलाएको मासु फालिएपछि पुरानै स्वरुपमा अनुहारलाई ल्याउन ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ गरिन्छ ।

प्रस्तावित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसार्इंकै लगानीमा दुई वर्षदेखि विर्तामोडमा अस्पताल सञ्चालन भइरहेको छ । स्वदेशमै क्यान्सरको पूर्ण उपचार सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’का लागि अस्पतालमा अनुभवी जनशक्ति र उपकरण उपलब्ध भइसकेको मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादवले जानकारीदिए

नेपालमा मात्र नभएर नाक, कान र घाँटीको क्यान्सरका बिरामी विश्वभरि नै बढिरहेको उनले जानकारी दिए । सुर्ती र मदिरा सेवन नै यो प्रकारको क्यान्सर गराउने मुख्य कारण भएको उनको भनाइ छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वर्षसम्म नाक, कान र घाँटीको क्यान्सरको शल्यक्रिया गर्दै आएका अर्का सर्जन डा बजरङ्ग साह हाल अस्पतालमा सो सम्बन्धी विभागीय प्रमुखमा नियुक्त भएका छन् । उनले नै ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ गर्दै आएका छन्।

उनले नेपालमा पहिलो पटक ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा सुरु भएको जानकारी दिए । उनले शरीरको अरू भागबाट मासु ल्याएर अनुहारमा जोड्ने शल्यक्रियालाई नै ‘फ्री फ्लाप’ भनेर चिनिने बताए । ब्रेनभन्दा मुनि र फोक्सोभन्दा माथिको शरीरको भागमा ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ गरिन्छ ।

भारतमा ‘फ्री फ्लाप’ गर्न रु २० देखि २५ लाख खर्च लाग्ने भए तापनि यहाँ सोही उपचार रु तीन लाखमा भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा यादवले बताए । ‘फ्रि फ्लाप’ लागि अब विदेश धाउने दिन गएको उहाँको भनाइ छ ।

अस्पतालले दुई वर्षमा २२ हजार पाँच सय ३० क्यान्सरका बिरामीको उपचार गरेको र यसमध्ये सात सयको शल्यक्रिया गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए । उनका अनुसार अहिलेसम्ममा तीन हजार पाँच सय जनाको बायोप्सी जाँच गरिएको, दुई हजार आठ सय १० को केमोथेरापी गरिएको, नौ सय ५३ को रेडियोथेरापी गरिएको र एक सय ४० जनाको ब्रेकी थेरापी गरिएको बताए ।

– रासस

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार