लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

बुटवल ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले  प्रदेश प्रमुखलाई उनकै कार्यालय गएर राजीनामा बुझाएकाे एमालेका सचेतक भूमिश्वर ढकालले जानकारी दिए।

प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले पनि मुख्यमन्त्रीले प्रदेश प्रमुखकोमा गएर राजीनामा दिएकाे बताए ।

आफूविरुद्ध दर्ता भएको अविश्वसाको प्रस्तावमाथि प्रदेशसभामा छलफल सुरु हुनु केही मिनेट अघि उनले राजीनामा दिएका हुन्। बुधबार दिउँसो १ उनी विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान गर्ने कार्यसूचि प्रदेशसभाले निकालेको थियो।

अन्तिम समयसम्म सर्वोच्च अदालतको आदेश कुरेर बसेका पोखरेलले प्रदेशसभा सुरु हुनु केही मिनेट अघि मात्रै प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाएका हुन्।

बिहान बसेको संसदीय दलको बैठकले १२ः३० बजेसम्म सर्वोच्च अदालतको आदेश कुर्ने निर्णय गरेको थियो।

प्रदेशसभाका एमाले सांसद लिला गिरीले विशेष अधिवेशन र अविश्वास प्रस्ताव रोक्न माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ सर्वोच्चमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ। संसद बैठक सुरु हुने बेलासम्म सर्वोच्चबाट आदेश नआएपछि पोखरेलले राजीनामा बुझाएका हुन्।

उता सर्वोच्चमा गिरीले दायर गरेको रिटको सुनुवाइ भइरहेको छ।

प्रदेशसभामा कायम ८० जना सांसद रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ। तर सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन्। विपक्षी गठबन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरि ४१ सांसद छन्।

विपक्षी गठवन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिसकेका छन्।

यसअघि उनीविरुद्ध गत वैशाख ६ मा दर्ता भएर १९ मा संसदको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव पेश हुनेवाला थियो। तर, उनले संघीय सदनमा त्यसबेलाका प्रधानमन्त्रीले जे गरिरहेका थिए त्यही बाटो पछ्याए।

अविश्वासको प्रस्तावको सामना गर्नुको सट्टा सदनबाहिरबाट संसदीय राजनीतिको निकास खोज्दै उनले १९ वैशाखमै मुख्यमन्त्रीबाट राजीनामा दिए। त्यसरी राजीनामा दिएका उनी फेरि नाटकीय शैलीमा मुख्यमन्त्रीका लागि दाबी गर्दै प्रदेश प्रमुख कहाँ गएका थिए ।

एमाले पृष्ठभूमि र आदेशपालक भएकै कारण तत्कालीन प्रदेश प्रमुखले अर्को पक्षमा बहुमत पुग्दापुग्दै अल्पमतमा रहेका पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका थिए। विपक्षी सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएपछि मुख्यमन्त्रीले कडा सुरक्षाबिच प्रदेश प्रमुख यादवलाई मुख्यमन्त्री कार्यालयमा लगेर शपथ लिएका थिए।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार