बागलुङमा सक्रिय सङ्क्रमित ५००

बागलुङ । कोरोना सङ्क्रमितको सङ्ख्या पुनः उकालो लागेको छ । स्वास्थ्य कार्यालयको पछिल्लो आँकडाअनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५८० पुगेको छ ।  कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले पछिल्लोपटक एकैसाथ ८० नयाँ सङ्क्रमित फेला परेको जानकारी दिए । “आज निको हुने थपिएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या केही घट्न पनि सक्छ”, उनले भने ।

पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको देखिन्छ । बुधबार सक्रिय सङ्क्रमितको सङ्ख्या ४९७ पुगेकामा अहिले बढेर ५८० पुगिसकेको छ । गत असार तेस्रो साता जिल्लाभर सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर २५४ मा पुगेको थियो ।

यसपछि भने सङ्क्रमितको सङ्ख्या लगातार बढेको छ । यसरी केही समय थामिएजस्तो देखिएको सङ्क्रमण दर फेरि उकालो लागेको हो । जिल्लामा गरिएको कूल पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर २७.४ प्रतिशत छ जबकि नेपालको सङ्क्रमण दर १९.०३ प्रतिशत मात्र छ ।

देशभरको तुलनामा निको हुने दर पनि यहाँ कम छ । नेपालमा निको हुने दर ९४ प्रतिशत छ भने बागलुङमा ९१ प्रतिशत । देशभर मृत्युदर १.०५ हुँदा यहाँ भने त्यो भन्दा कम ०.९९ प्रतिशत छ । कोरोनाका जिल्लामा हालसम्म ६३ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला बाहिर पनि मृत्युवरण गर्नेको सङ्ख्या हेर्दा भने सयभन्दा बढी पुगेको स्रोत व्यक्ति घिमिरेले बताए । सङ्क्रमणसँगै मृत्युका घटना पनि बढ्न थालेका छन् । निषेधाज्ञा खुकुलो पारिएसँगै सङ्क्रमणको जोखिम पनि उत्तिकै बढेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताए ।

हरेक व्यक्ति स्वयं सतर्क र जिम्मेवार नभएसम्म सङ्क्रमण रोकथाम गर्न नसकिने उनको भनाइ छ । होम आइसोलेशनमा रहेका सङ्क्रमितलाई आफ्नो स्वास्थ्य स्थितिबारे विशेषरुपमा चनाखो बन्न चिकित्सकले सुझाएका छन् ।  सङ्क्रमणले च्याप्दै लगेर अन्तिम अवस्थामा अस्पताल आउँदा कोरोनाको उपचार प्रभावकारी नहुने चिकित्सक बताउँछन् । पहिलो र दोस्रो लहरमा गरी यहाँका २२ हजार जनामा कोरोना परीक्षण गर्दा ६३०० बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोना नियन्त्रणका लागि खोप अभियान पनि चलिरहेको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार