वन्यजन्तु पीडितलाई राहत

दोलखागौरीशंकर संरक्षण क्षेत्रभित्र वन्यजन्तु पीडित किसानले क्षतिपूर्ति पाएका छन् । दोलखाका विभिन्न स्थानीय तहका किसानहरुलाई संरक्षण क्षेत्रका वन्यजन्तुहरुले गरेको मानवीय तथा पशुधन क्षतिबापत सरकारको तर्फबाट राहत स्वरुप क्षतिपूर्ति उपलब्ध गराइएको हो । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले किसानको क्षतिका आधारमा राहतस्वरुप आर्थिक सहयोग उपलब्ध गराएको छ ।
विभागअन्तर्गतको गौरीशंकर संरक्षण क्षेत्र सम्पर्क कार्यालय दोलखाले किसानलाई राहत रकम हस्तान्तरण गरेको हो ।

कार्यालयका सम्पर्क अधिकृत शिवलाल गैरेका अनुसार वन्जन्तुले आक्रमण गरी घाइते बनाएका मानिस र पशुचौपाय गुमाएका किसानलाई क्षतिको आधारमा रकम उपलब्ध गराइएको छ । गत वर्ष भालुले आक्रमण गरी घाइते भएका जिरी नगरपालिका १ श्यामाका पदमबहादुर खड्कालाई क्षतिपूर्ति बापत नगद ६२ हजार ४ सय रुपैयाँ उपलब्ध गराइएको छ ।
खड्कालाई आफ्नै गोठमा भालुले आक्रमण गरेर घाइते बनाएपछि उपचारका क्रममा लामो समय अस्पताल बसेर घर फर्केका थिए ।

त्यस्तै विगु गाउँपालिका ३ बुलुङका मेतर तामाङ पनि भालु आक्रमणमा परी घाइते भएपछि २६ हजार ६ सय रुपैयाँसहयोग गरिएको सम्पर्क अधिकृत गैरेले जानकारी दिए ।
चितुवाको आक्रमणमा परी घाइते भएका गौरीशंकर ६ का दाछिरी शेर्पालाई ५ हजार ५ सय रुपैयाँ सहयोग गरिएको छ । संरक्षण क्षेत्र भित्र सबैभन्दा बढी भालु र चितुवाको आक्रमणमा परेर घाइते भएका छन् ।
संरक्षण क्षेत्रभित्र वन्यजन्तुका कारण पशुचौपाय गुमाएका १० जना किसानलाई राहत स्वरुप क्षतिपूर्ति उपलब्ध गराइएको छ । उनीहरुलाई वन्यजन्तुबाट भएको क्षति राहत तथा सहयोग निर्देशिका २०६९ का आधारमा आवश्यक अनुसन्धान गरी रकम उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।
यसअघि पनि गौरीशंकर संरक्षण क्षेत्र भित्र वन्यजन्तुबाट मानवीय तथा पशुधन र बाली क्षतिवापत २ पटक क्षतिपूर्ती दिएको छ ।

यसअघि गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले नै क्षति मूल्यांकन गरी क्षतिपूर्ती दिने गरे पनि गत वर्षबाट निकुञ्ज विभागको सम्पर्क कार्यालयमार्फत राहत उपलब्ध गराउन सुरु गरेको छ ।वन्यजन्तु आक्रमणबाट भएको क्षतिको पीडितले संरक्षण क्षेत्रमा उजुरी गर्छन् ।

पीडितको निवेदनका आधार संरक्षण क्षेत्रले प्रमाण संकलन गरी निकुञ्ज विभागको सम्पर्क कार्यालयमा सिफारिस गर्ने आयोजना प्रमुख सत्यनारायण साहले बताए । क्षतिपूर्ती मूल्यांकनका लागि विगू र गौरीशंकर गाउँपालिकाका अध्यक्षसमेत रहेको एक समिति रहेको छ । समितिले सिफारिस गरेपछि विभागबाट राहत उपलब्ध गराउने गरेको छ । वन्यजन्तुबाट पीडित अझै ८ जनाको प्रमाण संकलन भइरहेको संरक्षण क्षेत्र आयोजनाकी प्रशासन सहायक दुर्गा खड्काले जानकारी दिइन् ।पीडितहरुलाई मानवीय र पशुचौपाय समेत गरी जम्मा २ लाख ७ हजार रुपैयाँ रकम उपलब्ध गराइएको सम्पर्क कार्यालयले जनाएको छ।

सहयोग वितरण कार्यक्रममा बागमती प्रदेशका प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक किशोर कुमार दाहालले वन्यजन्तुले गरेको हानी नोक्सानीले किसानले दुख पाएको बताउँदै न्युनीकरणको अभ्यास गर्न सुरक्षा निकाय गम्भिर रहेको जनाएका छन् । उनले संरक्षण क्षेत्रको जगेर्ना सरकारले मात्र नभएर नागरिकस्तरबाट पनि सहयोग गर्न स्थानीयलाई अनुरोध गरे ।गौरीशंकर गाउँपालिका वडा नं. ९ का सूर्यबहादुर तामाङलाई वन्यजन्तुबाट घर क्षति भए वापत ५ हजार राहत उपलब्ध गराएको छ ।

गत कात्तिक २३ गते भालु घर भित्रै पसेर अन्नवालीको क्षति र लत्ताकपडासहित घरको झ्याल समेत भत्काएको थियो ।
राहत तथा सहयोग निर्देशिका २०६९ मा घर क्षतिबारे उल्लेख नभएपछि निकुञ्ज विभागबाट राहत उपलब्ध नभएपछि आफ्नै स्रोतबाट सहयोग गरेको आयोजना प्रमुख साहले बताए । साहले संरक्षण क्षेत्र भित्रका सबै किसानको अन्नबाली, घरपालुवा पशुधन र नागरिकको समेत बीमा गर्नेबारे समेत संरक्षण क्षेत्रले योजना रहेको बताए ।

कार्यक्रममा विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का, गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्का र गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण साह लगायतले धारणा राखेका थिए। सहयोग प्राप्त गर्ने पीडितहरुले भने आफूहरुले नसोचेको सहयोग प्राप्त भएको जनाएका छन् ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार