निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत गैँडा भेटियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एउटा पोथी गैँडा मृत फेला परेको छ। निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा पर्ने नमूना मध्यवर्ती सामुदायिक वनमा मृतावस्थामा पोथी गैँडा फेला परेको हो ।

सो सामुदायिक वनको पश्चिमतर्फको गेटमा करिब ३०–३५ वर्षको पोथी गैँडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

मृता गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीको भनाइ छ । मृत गैँडाको प्रकृति हेर्दा रोगी र कमजोर देखिएको तथा वनमा लगाइएको झट्का दिने करेन्टमा परी लडेर मरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको अधिकारीले जानकारी दिनुभयो ।

नवलपुरमा बुधबार भेटिएको मृत गैँडासँगै चालु आव २०७८/७९ मा चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मरेका छन् ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार