चामे–तिमाङ सडकमा सवारी आवतजावत

मनाङ ।   सदरमुकाम चामेस्थित मस्र्याङ्दी नदीले थुनिएको मोटरेवल पुल सञ्चालनमा आएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मोटरेवल पुल सञ्चालन भएसँगै माथिल्लो मनाङबाट हने आवतजावत सहज हुने भएको छ ।

पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा नेपाली सेना, सशस्त्र प्रहरी तथा जनपथ प्रहरीसँगै एक्साभेटरको प्रयोगबाट हटाइएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । पुलमा सहज भएपछि माथिल्लो मनाङको आवतजावत सञ्चालन भएको उनले बताए। नदीलाई पहिलाकै धारमा फर्काउन सकिएकाले आवतजावतमा सहज भएको उनले बताए।

गत असारको पहिलो साता आएको वर्षासँगै नदीमा आएको बाढीपहिराले चामेको उक्त पुल अवरुद्ध भएको थियो । पुल थुनिएसँगै नदीको बहावले चामेस्थित लोकप्रिय मावि र विद्यालय नजिकै रहेको झोलुङ्गे पुलमा नदीले कटान गरी क्षति पुर्याएको थियो । झण्डै डेढमहिना अवरुद्ध रहेको पुल खोल्नका निम्ती सशस्त्र प्रहरीको पर्वतीय उद्दार शिक्षालयको टोलीसमेत खटिएको थियो ।

अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरो र मस्र्याङ्दी नदीमा आएको बाढीका कारण लमजुङ–मनाङ सडकखण्डमध्ये सदरमुकाम चामेदेखि तिमाङसम्म मात्रै यातायात सञ्चालन भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेलेबताए।

अवरुद्ध सडकमध्ये जिल्लाको कोतोमा पहिरो पन्छाइएपछि सडक सञ्चालन भएको उनले बताए । त्यसअघि क्षतिग्रस्त सडक खण्डको स्यार्कु खोलामा अस्थायी काठे पुल राखिएको र थानचोक खोलामा ग्याबिन पर्खाल लगाएर सवारीसाधन सञ्चालन गराइएको प्रजिअ लामिछानेले जानकारी दिए । सडक पुनःनिर्माणसँगै गाउँपालिकाअन्तर्गत तिमाङ गाउँदेखि सदरमुकाम चामेसम्म पुग्न सहज भएको छ ।

बेँसीशहर–चामे सडक ट्याक खोलेको नेपाली सेनाका तत्कालीन कमाण्डर इञ्जिनीयर इन्दिवर गुरुङसहितको टोलीले क्षतिग्रस्त सडकको स्थलगत निरीक्षण गरेको थियो ।

–  रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार