कविता : जिन्दगी जिउन हिँडेको तिमी

जिन्दगी जिउन हिँडेको तिमी

तिमी हिँडिरहनू,
निर्ममताले ओसिएलान् तिम्रा परिचय पत्रहरु
तर नआत्तिनू,
एउटा अञ्जान सहरको अञ्जान गल्लीमा तिमी अञ्जानको कुनै परिचय हुँदैन ।

त्यो हिलोमैलोले छपक्कै छोपेको सडकमा तिम्रा पाउ चिप्लिएलान्,
लाग्लान् मैला दाग
तर तिम्रो पानी झैँ निश्छल मनमा कालो दाग लगाउने हिम्मत कुनै सडकको कुनै बाटोमा हुनेछैन ।

आवेगमा चलेको हुरीले कति क्षति पु-याउँछ तिमीलाई थाहा छ
त्यसैले तिमी सुस्तरी चल्नू,
यति सुस्तरी कि तिमी हिँड्दा तिमीभन्दा तलको जमिनलाई
आफू कुल्चिएको आभास नहोस् ।

तिमी आशा पोतिएका एक थान वस्त्र बोकेर हिँड्नू
कसैले निराशावादी प्रश्नचिह्न ठड्याइदिए भने फेरिदिनू त्यो वस्त्र !

बादलले आशा बोकेर आकाशमा नभौँतारिएको भए ,
कहाँ भेट्थ्यो पहाड, कहाँ बन्थ्यो पानी
अनि कहाँ आइपुग्थ्यो धर्ती भेट्न !

तिमी हिँडिरहनू , बगेजस्तै गरी !

जबसम्म तिम्रा पैताला अनगिन्ती ढुङ्गाको चोटले गल्दैन ,
जबसम्म तिम्रो घाँटीले मरूभूमिमा छटपटाएको चराले जस्तो प्यास भेट्दैन ,
जबसम्म दलदलमा भासिएको तिम्रो अस्तित्वले एउटा गतिलो परिणाम भेट्दैन ,
जबसम्म तिमीभित्र चोटको एउटा विशाल महासागर बग्दैन,

अनि बस्
तब तिमी त्यो महासागरबाट एक-एक अञ्जुली उठाउँदै आफ्नो मुहार धोइदिनू
अनि हेर्नू
तिम्रो चम्किलो मुहारको बिम्ब
त्यो विशाल महासागरमा ।

हेर्नू, तिम्रो त्यो अट्टहाँस हाँसो ,
त्यो चोटिलो अञ्जुलीकाे एक थोपा पानीमा
जिन्दगी जिउन हिँडेको तिमी
पुग्नेछौ जिन्दगीले जिन्दगीदेखि हारेको त्यो जमिनमा ,
तिम्रो आगमनको सुइँको पाएर बास्ना छरिरहेका फूलहरुमा

तिमी त्यहाँ-त्यहाँ पुग्नेछौ ,
जहाँ-जहाँ जिन्दगीसँग तिम्रो भेट हुनेछ
तिमी हिँडिरहनू !!

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार