फेरि स्मार्ट लकडाउनमा जान सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । कोभिड-१९ संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो ।

बैठकपछि  सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले स्मार्ट लकडाउनको प्रस्ताव भएको र अर्को बैठकमा टुंगोमा पुग्ने जानकारी दिए ।

उनका अनुसार संक्रमण दर, संक्रमण संख्या, अस्पतालमा पूर्वाधारको अवस्थाजस्ता सूचक हेरेर मुलुकलाई रेड, एम्बर, यल्लो र ग्रीन जोनमा विभाजित गर्ने तयारी भएको छ । सोहीअनुसार जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सो ठाउँमा स्मार्ट लकडाउन गर्न सक्ने भएका छन् ।

‘स्मार्ट लकडाउनको अवधारणा पेश भएको छ र आजैदेखि छलफल सुरु भएको छ’ प्रवक्ता खतिवडाले भने, ‘यसबारे चाँडै बस्ने बैठकले टुंगो लगाउनेछ ।’ संक्रमणको आधारमा विभाजित हुने क्षेत्रमा के–के गर्न पाइने र नपाइने भन्ने कार्ययोजना समेत तयार पारिने भएको छ ।

प्रधानमन्त्रीद्वारा क्यूआर कोर्ड लागू गर्न निर्देशन

सीसीएमसी अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले खोप प्रमाणीकरण कार्ड क्यूआर कोडमा लागू गर्न निर्देशन दिएका छन् । कतिपय मुलुकले कागजी प्रमाणीकरणलाई मान्यता नदिएकाले प्रम देउवाले क्यूआर कोड लागू गर्न भनेका हुन् ।

केही दिनदेखि नै क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण हुने सीसीएमसी प्रवक्ता खतिवडाले जानकारी दिए । अहिले विदेश जाने श्रमिकले टेकुसहितका चार अस्पतालबाट कागजी खोप प्रमाणीकरण कार्ड लिइरहेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार