खुसी ल्याउन सक्ने शिक्षा (Podcast सहित)

म शिक्षाविद् होइन । शिक्षाकर्मी पनि परिनँ । म एक कलाकार हुँ । हुँ एक कलाकर्मी, एक सिर्जनशील व्यक्ति । त्यसैले शिक्षाका बारेमा मभन्दा धेरै जानकार यस क्षेत्रमा लागेकाहरु नै हुनुहुन्छ । यसमा म विश्वस्त छु । वर्षौंदेखि शिक्षाको गाडी हाँकिरहनुभएका व्यक्तित्वहरु हाम्रामाझमा हुनुहुन्छ । त्यसैले शिक्षाको बारेमा बोल्नु धृष्ठता हुनसक्छ । तर पनि पछिल्लो केही वर्षयता मलाई अनुभूति भएको कुरा सुनाउन चाहेको छु ।

मैले शैक्षिक ‘इस्यू’मा फिल्मकर्म गरेका कारण पनि यस विषयमा म केही बोल्न सक्ने भएको छु । मैले काम गरेको एउटा फिल्म थियो, ‘तारे जमिन पर’ र अर्को ‘थ्री इडियट्स्’ । यी दुबै फिल्म शैक्षिक विषयमा बनेका हुन् । यसै सिलसिलामा मैले गहिरो रिसर्च गरेँ । शिक्षा सम्बन्धी विषयमा । शैक्षिक विषयका केही निष्कर्ष मेरा आँखाअगाडि आए । अभिभावक, शिक्षक, शिक्षाकर्मी, शिक्षाविद्, बालबालिका सबैसामु मेरा विचार सुनाउन चाहन्छु । मेरा निष्कर्ष शेयर गर्न चाहन्छु । मेरा कुरा सही नलाग्न सक्छन् । असहमतिका स्वर निस्कन पनि सक्छन् । यद्यपि म आफ्ना कुरा बताउछु । किनभने, मेरा कुराहरुको नजिकको सम्बन्ध शिक्षासँग छ ।

पहिलो कुरा, हरेक बालक आफैंमा विशेष हुन्छ । बालकको वैयक्तिक स्वभाव हुन्छ । रुचि हुन्छ । क्षमता हुन्छ । यो कुरा मैले होइन मेरो रिसर्चले पुष्टि गरेको हो । हामीसँग नि क्षमता छ । केही न केही कमजोरी छ । मेरै पनि केही कमजोरी छन् । हरेक बालकको पनि प्रतिभा हुन्छ । कमजोरी हुन्छ । यो प्राकृतिक गुण हो । हामी शिक्षा सरोकारवालाले बालकको प्रतिभा पहिचान गर्न सक्नुपर्ने हो । शिक्षक, शिक्षाकर्मी, नीतिनिर्माता, अभिभावक, अग्रज सबैले सघाउनुपर्ने हो । उसलाई मद्दत गर्नुपर्ने हो । बालकको हृदयले के चाहन्छ ? उसलाई कुन कुराले खुसी मिल्छ ? यो कुराको पहिचान हामीले गर्नुपर्ने हो । कमजोरी भएमा त्यसबाट उम्किन टेवा दिनुपर्ने हो । त्यसो हुन सकिरहेको छ त ?

अक्सर शैक्षिक संस्थाहरुमा भन्ने गरिन्छ, हाम्रा विद्यार्थी सबै उत्तीर्ण भए । हामी शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल । यति जनाले यो ग्रेड ल्याए । यति अङ्क ल्याए । यस्तैयस्तै । स्कूलहरुले त यसैलाई आधार बनाएर विज्ञापन पनि गर्छन् । यहाँनेर मेरो प्रश्न यो हो कि, उत्तीर्ण भएका हाम्रा कति बालबालिका खुसी छन् ? मेरो महत्वपूर्ण सवाल यही हो । पढ्ने लेख्ने काम त सिकिहालिन्छ । यो त्यति ठूलो पहाड पनि होइन जसलाई उक्लिन त्यस्तो कठिनाइ परोस् । केही कुरा सिक्नु जरुरी भयो भने कुनै न कुनै उपाय लगाएर मानिसले सिकिछाड्छ । म पनि त्यस्तै गर्छु । खुसी हुने कुरा छ, ‘अब म खुसी हुन्छु’ भनेर हुन सकिन्न ।

‘थ्री इडियट्स्’को परीक्षण प्रदर्शन गरेका थियौं । कारखानामा काम गर्ने २५/३० जना मजदुर आएका थिए । उनीहरुले मलाई प्रश्न गरे, ‘थ्री इडियट्स्’ फिल्म हेर्नुभयो ? भनेर । एक जनाले एउटा यस्तो कमालको प्रश्न गरे, ‘फिल्मको अन्त्यमा तपाइँ ¥यान्चो त हुनुहुन्थेन नै, प्रमाणपत्र त मिलेन नै, त्यो त जावेदलाई मिल्यो । तर त्यस्तो ठूलो वैज्ञानिक चाहिँ कसरी बन्नुभयो ? त्यत्ति धेरै पेटेन्ट, झण्डै चार सय । जापानीहरु तपाइँको पछि लागेका छन् । विना प्रमाणपत्र कसरी त्यस्तो चर्चित वैज्ञानिक बन्न सक्नुभयो ?’ यो हो एक अहम् सवाल । हृदय छुने विषय ।

मैले ती प्रश्नकर्ता मजदुरलाई दुइ वटा प्रश्न सोधेर जवाफ दिएँ । एक, ‘तपाइँलाई के लाग्छ म राम्रो कलाकार हुँ ?’ उनले भने, ‘हो । देशभर तपाइँलाई सबैले राम्रो कलाकार मान्छन् ।’ मैले उनलाई भनें, ‘मसँग कुनै प्रमाणपत्र छैन जसले म राम्रो कलाकार भनेर पुष्टि गरोस् । मसँग त्यस्तो कुनै कागज नै छैन ।’ अनि अर्को प्रश्न गरेँ, ‘मैले सुनेको छु कि तपाइँ एक कुशल ‘कटर’ हुनुहुन्छ । तपाइँको खुब इज्जत पनि छ । तपाइँसँग कुनै प्रमाणपत्र वा केही कागज छ जसले यस कुरालाई प्रष्ट पारोस् ?’ उनले भने ‘छैन ।’ यसरी उनले जवाफ पाए ।

जब म परीक्षामा सामेल हुन्छु, रटेका उत्तर लेखेर परीक्षामा उत्तीर्ण हुन्छु । अनि एउटा कागज हासिल गर्छु, मार्कसिट या ग्रेडशिट । अनि त्यो कागजले भन्छ कि म पढालेखा हुँ । भलै स्वयम्लाई नै थाहा नहोस् कि आफू के जान्दछु, पढालेखा हुँ कि होइन । मैले प्राप्त गरेको ज्ञान र कागजको सम्बन्ध प्रस्ट बुझिन्न । सबैलाई थाहै छ यो कुरा ।

शिक्षा अङ्कले मापन हुन्न । प्रमाणपत्रको दायराभन्दा धेरै फराकिलो छ शिक्षाको आयाम । ग्रेडभन्दा धेरै पर छ यसको मूल्य । शिक्षाको सार्थकता जीवनसँग छ । शिक्षा त्यही हो जुन हामी सिक्छौं । जे हामी हरेक क्षण सिकिरहेका हुन्छौं । जीवनमा उपयोग हुन नसक्ने कुरा पढेर समय बर्बाद गर्नु शिक्षा होइन । मेरो यो इच्छा छ कि शिक्षालाई हामी अब फराकिलो नजरले हेर्न सकौं । बालकबालिकालाई यस्तो शिक्षा दिन सकौं जुन जीवनका लागि काम लागोस् । र हामी खुसीसाथ शिक्षाका काम गर्न सकौं ।

शिक्षामा ज्ञानको मात्र कुरा हुँदैन । शिक्षामा अर्को कुरा हुन्छ त्यो हो यसले मानव बन्ने मार्गमा डो-याउँछ । बालबालिकाको शारीरिक, मानसिक, सामाजिक संवेगात्मक र बौद्धिक विकासका लागि शिक्षा नै मूल हो । जिन्दगीमा अघि बढ्दै गर्दा एउटा असल नागरिक, एउटा असल मानव बन्न शिक्षाले भूमिका खेल्छ । शिक्षाको भूमिका हुन्छ, ऊ आत्मनिर्भर बन्न सकोस् । इज्जतको जिन्दगी बाँच्न सकोस् र दोस्रोको बारेमा ध्यान दिन सकोस् । अरु कसैको मुहारमा आउने मुस्कानको कारण बन्न सकोस् । सहयोगी भावनाले ओतप्रोत हुन सकोस् । यही नै हो बालबालिकामा हामीले गराउनुपर्ने विकास । मेरो अनुभूति यही हो ।

म जहाँ पनि देख्छु (म सानो छँदाको मेरो अनुभूति नि त्यस्तै हो), जब बालक स्कूलबाट घर फर्किन्छ हामीले राख्ने चासो हुन्छ कति अङ्क ल्याइस् भन्ने । हामी सोध्छौं, जाँचमा के भयो ? कुन ग्रेड आयो ? अझ भन्ने गरिन्छ, फस्र्ट भइस् कि सेकेण्ड ? फस्र्ट भए त ठीकै छ, केही गरी सेकेण्ड भयो भने हामी कराइहाल्छौं । फस्र्ट हुनुपर्छ नि भनेर । सबैजना फस्र्ट हुन त मिल्दैन । यदि दशौं भयो भने त हालत खराब हुने भइहाल्यो ।

हामीलाई हाम्रा छोराछोरी फस्र्ट बनाउनु छ । स्कूलमा हुने चम्चा दौडमा पनि हामी चिच्याइरहेका हुन्छौं, ‘छोरा दौड, अझ दौड, फस्र्ट हुनुपर्छ ।’ अभिभावकले जहिल्यै चासो राख्ने हुँदा बालकलाई नि लाग्न थाल्छ कि यो फस्र्ट हुनु एकदम जरुरी छ । प्रतिस्पर्धामा भाग लिनु, अब्बल ठहरिनु, जित्नु, अरुभन्दा अगाडि दौडनु जीवनको अपरिहार्य पक्ष हो भन्ने कुरा बालकले आत्मसात गर्दैजान्छ । शिक्षकले पनि यही सवाल उठाउँछन् कि जित्नू अरुलाई । अनि अन्ततः हुन्छ के भने जब कोही जवान हुन्छ, ऊ स्वार्थी स्वभावको हुन्छ । ऊ सोच्छ त केवल आफ्नै बारेमा । अरुका बारेमा जिम्मेवार बनेर सोच्न हामीले कहिल्यै सिकाएनौं । उसलाई स्वार्थी बनाएको हामीले नै हो । हाम्रो पद्धतिले हो । बचपनदेखि हामीले पोख्त बनाएका हुन्छौं कि ‘तिमी पहिलो हुनू, बाँकी अरुलाई सम्झिनु जरुरी छैन ।’ यसरी एक जवान सिर्फ सफल बन्न चाहन्छ जसरी पनि । उसलाई अरुको कुनै चासो हुन्न ।

मेरो आत्मा चाहन्छ कि आम अभिभावक, अग्रज र भोलिका अभिभावकले पनि बालबालिकालाई हरेक दिन यस्तो प्रश्न गरुन् कि ‘बाबु-नानी तिमीले आज कसलाई के सहयोग ग-यौ ?’ ‘कसलाई खुसी बनायौ ?’ ‘कसरी अरुको मुहारमा मुस्कान ल्यायौ ?’ यो नसोधौं कि ‘पढाइ कस्तो भयो ?’ ‘शिक्षक आए कि आएनन् ?’ ‘कुन ग्रेड आयो ?’ यस्ता प्रश्न नसोधौं । अनि उसलाई लाग्नेछ कि जरुरी त अरुलाई सहयोग गर्नु रहेछ । अरुको मुहारमा मुस्कान ल्याउनु रहेछ । अभिभावकलाई महत्वपूर्ण लागेको विषयले मनोवैज्ञानिक रुपमा प्रभाव पारेकै हुन्छ । जुन कुरा सोच्दै ऊ हुर्किन्छ त्यसले दृष्टिकोण र व्यवहार निर्माणमा भूमिका निर्वाह गर्छ । सकारात्मक सोचसहितको हुर्काइ हुँदा सारा बालक नौजवान भएको दिन हाम्रो समाज नै बदलिन्छ किनकि ती नौजवान अरुको खुसीका लागि पनि सकारात्मक हुनेछन् ।

मैले मेरो स्कूल जीवनमा पनि नदेखेको र अनुभूति गर्न नपाएको यस्तो शैक्षिक पद्धति म देख्न चाहन्छु कि बालबालिकाको सिकाइमा खुसीखुसी सहजीकरण गरौं । खुसी हुने र अरुको मुहारमा खुसी ल्याउने कर्ममा अघि बढौं । बालबालिकाको जिन्दगीसँगै हाम्रो देश पनि बदलिनेछ ।

(करिब ८ वर्ष अघि भारतीय सुपरस्टार आमिर खानले दिएको शिक्षासम्बन्धी मन्तव्य)

प्रस्तुतिः नरेन्द्रकुमार नगरकोटी

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार