बैतडीका सबै विद्यालय खुले

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीका सबै स्थानीय तहका विद्यालय आजदेखि सञ्चालन भएका छन्। कूल ६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहका विद्यालयमा भौतिक रुपमै पठनपाठन सुरु भएको हो।

दोगडाकेदार गाउँपालिकाका विद्यालय सञ्चालनमा आएसँगै जिल्लाका सबै स्थानीयतहमा पठनपाठन सुरु भएको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयमा भौतिक रुपमै पठनपाठन कार्य सञ्चालन गरिएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटस्थित सनातन धर्म माविका प्रधानाध्यापक वलदेवनाथले जानकारी दिए।

विद्यालयमा मास्क अनिवार्य गरिएको छ । स्यानिटाइजर र साबुनपानीले हात धुने व्यवस्था छ । उनले भने, ‘कक्षा कोठामा पनि विद्यार्थी बीच सकेसम्म सामाजिक दूरी कायम गरेका छौं तर विद्यार्थी बढी र कक्षा कोठा कम भएकाले त्यसमा कठिनाई भएको छ।’

भौतिक रुपमै पठनपाठन कार्यमा सहभागी हुन पाउँदा विद्यार्थी खुसी भएका छन् । मेलौली, पुर्चौडी, दशरथचन्द, पाटन नगरपालिका तथा डिलाशैनी, सुर्नया, शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा यसअघि नै पठनपाठन सुरु भइसकेको छ । भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको छ ।  हाल यहाँ २० सक्रिय सङ्क्रमित छन्।

शिवनाथ, पञ्चेश्वर, सिगास र डिलाशैनीमा हाल कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  बैतडीमा ५६२ विद्यालय छन् जसमध्ये २४ संस्थागत र बाँकी सामुदायिक विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ।

-रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार