भरतपुरमा प्रमुख पदमा पुनःनिर्वाचित भएपछि रेणु दहाल

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

भरतपुरमा महानगरपालिका प्रमुख पदमा पुनःनिर्वाचित भएपछि रेणु दहाल

 

 

 

मंगलबार, जेठ १०, २०८९ / Tue. May 24, 2022

 

 

चितवन : चितवन स्थित हाम्रा फुलमून संवाददाता अश्मिता अधिकारीका अनुसार विपक्षीहरूले हराउनका लागि ठूलो प्रयत्न गरेपनि पनि असफल भएको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहालले बताएकी छन् । उनलाई  नेकपा एमालेका विजय सुवेदी र नेपाली कांग्रेसका विद्रोही जगन्नाथ पौडेलले चनौती दिएका थिए ।

गठबन्धनभित्र चुनौती हुनु स्वभाविकै हो, चुनौती भए पनि गठबन्धनभित्रका दलका साथीहरूले इमानदारिता प्रकट गरेकाले जित भएको उनको भनाइ थियो । उनले भनिन्, “विपक्षीहरूले हराउनका लागि ठूलो योजना बुने तर पनि असफल भए । अब हामी मतदाताले दिएको जिम्मेवारी पूरा गर्न तर्फ लाग्नेछौं ।

उनले महानगरवासीलाई कुनैपनि हालतमा निराश हुन नदिने बताइन् । स्थानीय तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उनले महानगरका अधुरा काम पूरा गरेरै छाड्ने बताइन् । उनले भनिन्,“देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद भए पनि जनताको भावना बुझेर काम गर्नेछु”, उनले भनिन्,“स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ होइन, विकास निर्माण गर्ने हो, त्यतै तर्फ अब निरन्तर लागिरहनेछु ।”

पहिलो पटकको कार्यकालमा महानगरमा आफूले गरेको पहिलो निर्णय अहिले धेरै पालिकाहरुले सुरु गरेकाले त्यो जनताबाट अनुमोदित भएको उनले बताइन् । पहिलो पटक उनि निर्वाचित भएसँगै पहिलो निर्णय भरतपुर अस्पतालमा महिलाका लागि बहिरङग सेवाको टिकट निःशुल्क गरिएको थियो । पाँच दलीय गठबन्धन शान्ति र प्रगतिको लागि भएकाले यो लामो समयसम्म जाने बताउँदै उनले यो भत्किहाल्ने, टुटिहाल्ने जस्तो केही पनि नहुने बताइन् ।

निर्वाचन अघि सार्वजनिक गरेको प्रतिबद्धता अनुरूप नै आफू अबको पाँच वर्ष उही गतिमा काम गर्ने उनले दोहोर्‍याइन् । उनले भनिन् “महानगरभित्र पूरा गर्न बाँकी योजना, आयोजना यो कार्यकालभित्रै सम्पन्न गर्ने तर्फ विशेष ध्यान जान्छ ।”

भरतपुरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार केही काम अगाडि बढे पनि पूर्ण नभएकाले त्यसमा बढी ध्यान जाने उनको भनाइ थियो । उनले भनिन् “भरतपुरमा मुख्य गरेर रोजगारीको समस्या विकराल बन्दै गएको छ । त्यसको समाधान तर्फ पनि विशेष ध्यान दिने छु ।” शिक्षा, स्वास्थ्य, पूर्वाधार, विकास, फोहर तथा ढल व्यवस्थापनमा जोड दिने भन्दै उनले आफूले गरेको कामको अनुमोदन जनताले गरिदिएकोमा खुसी प्रकट गरिन् ।

🖌️ अश्मिता अधिकारी

चितवन संवाददाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *