मैले नखाएको विष (एक आत्म कथा) – ज्योति पाख्रिन

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

मैले नखाएको विष ( एक आत्म कथा )

 

 

🖊️ज्योति पाख्रिन

 

 

बिहीबार, माघ ६, २०७८ / Thu. Jan 20, 222

बिहान 7 बजे
………………………………………….. ………………………………………..

 

आज पनि जाडै छ। हुन त यो जाडो माघ महिनाको अन्त्य सम्म यत्तिकै रहला । यसो पर्दा खोलेर बाहिर चिहाउँदै हेर्दैछु, कतै घाम लागि पो हाल्छ कि भनेर! तर घामको नामोनिशान छैन ।
बाहिर सुनसान छ, कुकुर पनि भुकेको सुनेको छैन ।
समय र परिस्थिति डरलाग्दो छ । पोहोर साल देखि नै कोरोनाले आक्रांत पारेका संसारका सबै मानिसहरूलाई । यसपाली त झन् कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन जो झन् छिटो फैलन्छ भन्दैछन् । सरकारले पनि बिस्तारै लकडाउनको घोषणा बढाउँदै जाला जस्तो छ,ठाउँ र परिस्थिति अनुसार । उफ्,चिन्ता लाग्न थालिसक्यो । लकडाउन भयो भने के गर्ने होला भनेर । कारण उही आर्थिक स्थिति त हो नि । पोहोरकै लकडाउनले आर्थिक स्थिति डामाडोल भैरहेको बेलामा 😊, यसपाली झन् थपिँदा हालत के होला ? शायद यो चिंता मेरो मात्र होईन होला! सबै गृहिणीहरूलाई यही चिंताले सताईरहेको होला जस्तो लाग्छ मलाई । चिन्ता गृहिणीहरूलाई मात्र हैन, परिवार पाल्ने घरका मूली पुरूषहरूलाई झन् बढि होला! हैन र ? भन्नु त मान्छेहरूले सजिलै भन्छन् -लोग्ने मान्छेहरूलाई के को चिंता ? घरको समस्या टार्नु पर्ने, पुर्याउनु पर्ने हैन, सबै आईमाईले टार्नु पर्ने , पुर्याउनु पर्ने हो ! तर म भन्छु -आईमाईलाई भन्दा सयौं गुणा बढी पिर चिन्ता लोग्ने मान्छेलाई हुन्छ किनकि पैसा कमाउन त्यति सजिलो छैन । पैसो कमाउन घरदैखि बाहिर निस्केपछि कस्ता कस्ता मान्छेहरूसॅग भेटघाट , सामना गर्नु पर्ने हुन्छ । कति चोर, फटाहा,  ठगहरूसॅग बच्दै, ट्याकल गर्दै हिँड्नु पर्ने हुन्छ । भन्दा मान्छेलाई नराम्रो लाग्ला , झन् यो काठमाण्डौमा यति फटाहा, चोर, ठगहरू छन्,  नेपालको भएभरको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ठगहरू यहिँ भेला भए जस्तै छन् । बहुत गार्हो छ यहाँ बँचेर खान, बँचेर हिँड्न, राम्रा सोझा र सज्जन लोग्ने मान्छेलाई पनि ।
अँ खै के भन्नु, के गर्नु ? यस्तै यस्तै कुराहरूले मन पिरोलिरहेको छ । सोचिरहेको छु, आफू पनि केही गर्नु पर्ला शायद । तर खै के गर्ने ? यस्तो महामारीको बेलामा पनि । काम गरिरहेकाहरूले पनि रोजगार गुमाईरहेका बेलामा ।
यति ठूलो संसारमा, यति धेरै आफन्तहरूको भिडमा पनि मलाई आज एक्लो महसुस भैरहेको छ । आफैंलाई टुहुरो जस्तो लागिरहेको छ । हामी काठमाण्डौमा छौं तर आफन्त भएर पनि नभए जस्तो लागिरहेको छ किनकि तिमीहरू कहाँ छौ, कता छौ, के गर्दै छौ भनेर सोधिदिने मान्छे, आफन्त कोही छैन! दु:ख, समस्या बुझेर पनि ढाढस दिने मान्छे कोही छैनन् ।बरू दु:खमा पनि खेदो गर्ने आफन्त पाएँ मैले । शायद यो जमानै यस्तै हो । यहाँ कसैलाई कसैको मतलब छैन । शायद आजकलका मान्छेहरूले यूरिया मल हालेको खानेकुरा खाएर हो कि अथवा बोईलर कुखुराको मासु खाएर हो कि 😊आत्मा नै चेतना बिहिन, दया बिहिन भएका 😊😁।
ओहो! साढे आठ बजिसकेछ । आज त पक्कै घाम नलाग्ने नै रहेछ । अब त चिया पिउनु पर्ला 😊।
(क्रमश :-………..)

Leave a Reply

Your email address will not be published. Required fields are marked *