आइसिसी विश्वकप लिग दुई ः अमेरिकासामु २७७ रनको लक्ष्य

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

काठमाडौँ, २८ माघ (रासस)ः

आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत आजको खेलमा ओमानले अमेरिका सामु जितका लागि २७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डङ रोजेपछि ओमानले शुरुआतमा ब्याटिङ गर्न पुगेको हो ।
ओमानले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर २७६ रन बनायो । ओमानका अकिब इलियासले लगातार दोस्रो शतक प्रहार गरे । नेपालसितको खेलमा सोमबार अविजित १०९ रन बनाएका उनले अमेरिकासितको आजको खेलमा पनि १०५ रन बनाए । अकिबससँगै ब्याटिङमा आएका कप्तान जेशन मक्सुदले पनि शतक प्रहार गरे । अकिबले १२३ बल खेल्दै एक छक्का र ११ चौका प्रहार गरे । यस्तै मक्सुदले १०९ रन बनाए । उनले १०९ बल खलेर चार छक्का र १० चौका हाने । दुवै जनाले २१६ रनको साझेदारी निभाए ।

अकिब र मक्सुदको उत्कृष्ट ब्याटिङका कारण ओमानले सम्मानजनक स्कोर खडा गर्न सकेको हो । अन्य खेलमा जस्तै ओमानले सस्तैमा प्रारम्भिक ब्ययाटस्म्यान गुमाएको थियो । जतिन्दर सिंह नौ तथा खवर अलीले १० रन मात्र बनाए । ओमानले ३१ रनको स्कोर छँदा दुई विकेट गुमाएको थियो । तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्न आएका अकिब र मक्सुदले नै ओमानको पारी सम्हालेका थिए । यस्तै सन्दिप गौडले अविजित १३ रन बनाए ।

बलिङतर्फ अमेरिकाका कप्तान सौरभ नेत्रवाल्कर र रुस्टी थेरनले तीन तीन विकेट लिए । सौरभले १० ओभर बलिङ गर्दै तीन मेन राखी रन खर्चिएका थिए । रुस्टीले १० ओभरमा ६० रन दिनुभयो । अन्य बलरले भने विकेट लिन सकेनन् । अमेरिका अहिले जवाफी ब्याटिङ गरिरहेको छ । उसले कमजोर शुरुआत गरेको छ । अमेरिकाले पाँच ओभरमा दुई विकेट गुमाउँदै मात्र १३ रन बनाएको छ । मोनाङ्क पटेल र स्टेभन टेलर रन नै नबनाइकन पभेलियन फर्केका छन् । अहिले जेभियर मार्सल र इयान होल्याण्ड ब्याटिङ गरिरहेका छन् ।

अमेरिका ओमानसित दोस्रो पटक खेल्न लागेको हो । अमेरिका ओमानसित माघ २३ गते पहिलो खेलमा छ विकेटले पराजित भएको थियो । अमेरिकाको पूरै ध्यान ओमानलाई उछिनेर शीर्ष स्थानमा उक्लिने रहनेछ । ओमान हालसम्म नौ खेलमा सातमा जित तथा दुईमा हारका साथ १४ अंकसहित शीर्ष स्थानमा छ । अमेरिका हालसम्म खेलेको १० खेलमध्ये छ मा जित र चारमा हारका साथ १२ अङ्क बटुलेर दोस्रो स्थानमा छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *